
बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्जको इजलासले सफाइ दिएको छ। यसअघि जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

२०७६ असोज १९ मा पक्राउ परेका आलममाथि २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरस्थित इँटाभट्टामा घाइतेहरूलाई जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको थियो। उनले बनाएको बम विस्फोट हुँदा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहितलाई घटना सार्वजनिक हुने डरले मारिएको आरोप थियो।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए। तर, पीडित पक्षको सर्वोच्च अदालतमा दिएको निवेदनपछि अनुसन्धान अघि बढेको हो। त्यसैका आधारमा आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो।

जिल्ला अदालतमा थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। तीन दिनसम्म चलेको बहसपछि बिहीबार उच्च अदालतले आलमलाई सफाइ दिएको हो। अभियोजन पक्षबाट तीन सरकारी वकिल र प्रतिवादी पक्षबाट नौजना कानुन व्यवसायीले बहस गरेका थिए।




























