
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो तथ्य सार्वजनिक गरेका हुन्।

उनका अनुसार बजेटको प्राथमिकता आर्थिक पुनरुत्थान, रोजगारी सृजना, उत्पादन वृद्धि, सामाजिक सुरक्षाको विस्तार, पूर्वाधार विकास र सूदृढ शासनमा केन्द्रित हुनेछ।
समग्र बजेटमध्ये चालु खर्चका लागि ठूलो हिस्सा छुट्याइएको छ भने पुँजीगत खर्च र वित्तीय व्यवस्थापनका लागि पनि पर्याप्त रकम विनियोजन गरिएको छ।


यस बजेटमार्फत सरकारले आर्थिक वृद्धिदर ५.5 प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। अर्थमन्त्री पौडेलले राजस्व वृद्धि, आन्तरिक स्रोतको उपयोग र विदेशी सहयोगको सदुपयोगमार्फत बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी वर्षको बजेटले आर्थिक स्थायित्व र समावेशी विकासको मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ।



















