
सुदूरपश्चिम प्रदेश सरकारले असोजमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारीस्वरूप प्रि–समिट गर्ने भएको छ।
प्रदेश सरकारले उक्त सम्मेलनको तयारीको स्वरूप यहीँ जेठ २० र २१ गते दुई दिवसीय प्रि–समिट कार्यक्रम आयोजना गर्न लागेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी सोमबार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी दिएका हुन्।

प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाबाट सम्मेलनमा सम्वोधन हुने कार्यक्रम रहेको छ। यसका साथै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, संस्कृत, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि उपस्थिति रहनेछ।कार्यक्रममा योजना आयोगका पूर्व सदस्य र लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुशील भट्टले मुख्य वक्ताका रुपमा प्रस्तुति गर्ने जनाइएको छ। लगानी बोर्डको भूमिका, सार्वजनिक निजी साझेदारी विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले आफ्नो प्रस्तुति राख्नेछन्।
‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना हुँदैछ। यस प्रदेशको प्रचुर प्राकृतिक स्रोत, अपार सांस्कृतिक सम्पदा रणनीतिक भौगोलिक अवस्थिति, पर्याप्त आर्थिक विकासको सम्भावनालाई उजागर गरी रुपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारबाट प्रथम लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्री शाहले बताए।


सम्मेलनमा संघीय, प्रदेश र स्थानीय तहका सरकार, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार संस्था, मित्र राष्ट्रहरू, व्यवसायिक प्रतिष्ठानहरू, स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू, नीति निर्माता, लगानीकर्ता, व्यवसायिक नेतृत्व, बैंक तथा वित्तीय संस्था, एनआरएनएका अग्रणीहरू, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, लगानी विद्, विषय विज्ञ, अनुसन्धानमूलक संस्था, स्थानीय उद्यमी, स्टार्टअप उद्यमीलगायतका सरोकारवालाहरू तथा मिडियाकर्मीको सक्रिय सहभागिताका लागि संयुक्त प्रेस वक्तव्य मार्फत् अनुरोध पनि गरिएको छ।
सम्मेलनमा उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडिबुटी, उर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरूमा लगानी प्रवद्र्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाई लगानी वृद्धि र नविन व्यवसायिक सक्रियता मार्फत समृद्धि, विकास र रोजगारीका अवसर अभिवृद्धि गर्नका लागि वातावरण सृजना गर्ने लक्ष्य लिइएको छ।
‘यस सन्दर्भमा हामी सबै राजनीतिक दलहरूका प्रमुख तथा प्रतिनिधिहरू लगानीमैत्री वातावरण बनाउन, आवश्यक नीति तथा कानुन निर्माण गर्न र संघ, प्रदेश तथा स्थानीय सरकारको र अन्तर्गतका संयन्त्रहरूको अन्तर समन्वय एवं आम जनसमुदाय र सबै सरोकारवालाहरूको सामुहिक सहयोगमा लगानी वृद्धि गर्न आयोजना हुने यस लगानी तथा विकास सम्मेलन, २०८२ लाई सफल बनाउन प्रतिबद्धता व्यक्त गर्दछौं।’ उक्त संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ।



















