
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शुक्रबार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशका केही स्थानमा र अन्य पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


शुक्रबार राति कोशी प्रदेश र अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागमा एक–दुई स्थानमा हिमपात हुने सम्भावना छ।
विभागले मौसम परिवर्तनसँगै यात्रा तथा दैनिक कार्यमा सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बर्सात र हिमपातले जनजीवनमा असर पुर्याउन सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।
































