
नेपालले मलेसियाको क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भइरहेको एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट अन्तर्गत तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै कीर्तिमानी जित निकालेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल बनायो, जुन नेपाली उमेर समूहदेखि सिनियर टोलीसम्मको एकदिवसीय क्रिकेटमा हालसम्मकै सर्वाधिक स्कोर हो। ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १३२ रन बनाए, जसमा १५ चौका र १ छक्का समावेश थिए। परिमार्जन यादवले २८ बलमा ७१ रन र रौनक श्रीवास्तवले ८८ रन बनाए।

४२१ रनको लक्ष्य पछ्याउन उत्रिएको इन्डोनेसिया २४.३ ओभरमै ५० रनमा समेटियो। कप्तान बिपिन शर्माले ७.३ ओभरमा मात्र १२ रन खर्चेर ६ विकेट लिए।

नेपालले यसअघि सिंगापुर र जापानलाई पराजित गरिसकेको छ र हालसम्मका तीनै खेल जित्दै ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ। अब नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
































