
हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सामान्यतः उत्तरतिर रहेको छ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागमा सामान्य बदली रहँदा अन्य स्थानमा आंशिक बदली छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
शनिबार देशभर साधारण बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागका केही तथा अन्य स्थानका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।


उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावित प्रभाव स्वरूप भू-क्षय, बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ। नदी तथा खोलामा पानीको सतह बढ्न सक्नेछ।































