
देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा अलि उत्तरतिर रहेको छ।


देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आइतबार देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। देशका अधिकांश प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी-नाला र खोलाहरूमा सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ। साथै, तराईका शहरी क्षेत्रमा डुबानको जोखिम समेत रहेकोले पूर्वतयारीका लागि आग्रह गरिएको छ।































