
छैटौँ संस्करणको साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि आयोजक बंगलादेशले जितेको छ। सोमबार राति ढाकास्थित बसुन्धरा स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई ४–० ले हराउँदै बंगलादेशले पाँचौँ पटक उपाधि आफ्नो पोल्टामा पार्यो।

बंगलादेशको जितमा सागोरिका प्रमुख नायिका बनिन्। उनले पहिलो हाफमा १ र दोस्रो हाफमा थप ३ गोल गर्दै एकल रूपमै निर्णायक भूमिका खेलिन्। नेपाली टोलीले केही अवसर सिर्जना गरे पनि ती अवसरलाई गोलमा परिणत गर्न असफल रह्यो।

लिग चरणमा नेपालले बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक हार बेहोरेको थियो भने अन्य खेलमा एकतर्फी जित हात पारेको थियो। तर निर्णायक म्याचमा भने नेपालको प्रदर्शन कमजोर रह्यो।

योसँगै नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रह्यो। नेपाल यसअघि सन् २०१८ र २०२३ मा पनि फाइनल पुगेको थियो तर दुवैपटक उपविजेतामा सीमित भएको थियो।
नेपालका लागि यो लगातार तेस्रो पटकको उपविजेता अनुभव बन्यो, जसले आगामी दिनमा अझ बलियो तयारीको आवश्यकता औंल्याएको छ।
































