
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको छ। सात सय पचास रुपैयाँ मूल्यको उक्त पुस्तक अहिलेसम्म २ लाख १८ हजार प्रति बिक्री भइसकेको पुनले जानकारी दिए।

पुस्तकबाट उठेको रकम वीरगञ्जस्थित औजार कारखाना र अन्य आविष्कार कार्यक्रमहरूमा खर्च गरिनेछ। पुस्तक बिक्री अभियानमा सहभागी हुन पुन पछिल्लो एक सातादेखि झापामा छन्। विर्तामोड नगरपालिकाले ५० हजार बराबरको पुस्तक खरिद गर्दै अभियानमा साथ दिएको छ।

सहारा नेपालका महेन्द्र गिरीले पुनको देशप्रेम अनुकरणीय रहेको बताए। विर्तामोड, दमक, बुद्धशान्ति लगायत पालिकामा स्थानीय युवाहरूले किताब बिक्री अभियान चलाइरहेका छन्।

पुनले सामाजिक सञ्जालमा मात्र गाली गरेर नभई देशका लागि सानोतिनो योगदान गर्नुपर्नेमा युवाहरूलाई प्रेरित गर्दै हाल केन्द्रमा १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए।

















