
देशभर मनसुनी वायुको प्रभाव व्यापक रूपमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले विभिन्न प्रदेशमा वर्षाको क्रम जारी छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकीलगायत पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।


आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
मौसममा तीव्र उतारचढाव देखिएकोले नदी तटीय क्षेत्र, पहिरो प्रभावित भूभाग, तथा सहरी क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ।
































