
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले देशभरको पहाडी क्षेत्रमा सामान्य बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

आज राति कोशी प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली रहनुका साथै केही स्थानमा चट्याङसहित वर्षा हुन सक्नेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने पूर्वानुमान छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।


















