
अत्तरिया: कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भए पनि अपराधीको पहिचान अझै हुन सकेको छैन। २०७५ साउन १० गते साथीको घर जान भनेर घरबाट निस्किएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। पोष्टमार्टमले बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरे पनि दोषी पहिचानमा प्रहरी असफल भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हालसम्म ६५५ जनासँग सोधपुछ र १२४ जनाको डीएनए परीक्षण भए पनि कुनै प्रमाण फेला परेको छैन। अनुसन्धानमा ढिलाइ, प्रमाण नष्ट, र गलत अभियुक्त उभ्याएको आरोपले प्रहरीको छविमा धक्का लागेको छ।

हाल निर्मला प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गरिरहेको छ। यद्यपि अनुसन्धानमा खास प्रगति नभएको सीआइबी प्रमुख एआइजी चन्द्र कुवेर खापुङ बताउँछन्।

२०८१ चैतमा सीआइबीको टोली घटनास्थल पुगे पनि नयाँ क्लु फेला पार्न सकेन। प्रारम्भिक अनुसन्धानका त्रुटिपछि प्रहरी अधिकृतहरूलाई कारबाही गरिएको थियो, तर उनीहरू पछि अदालतबाट सफाइ पाए। सात वर्षपछि पनि निर्मलाका परिवार न्यायको प्रतीक्षामा छन्।
































