
सुदूरपश्चिमका १३ सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पसको रूपमा समायोजन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट नेतृत्वको टोलीले बालकोटमा प्रधानमन्त्रीलाई औपचारिकरूपमा उक्त पत्र बुझाएको हो।

पत्रमा दार्चुलाको शंकरपुर क्याम्पस, बैतडीको गोकुलेश्वर कृषि कलेज, पुर्चौडी, कञ्चनपुरको झलारी र दोधारा चाँदनी, कैलालीको लम्की र घोडाघोडी, डोटी, अछाम, डडेल्धुरा, बझाङलगायतका क्याम्पसलाई समायोजनको माग गरिएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ती क्याम्पसलाई ०८२/०८३ शैक्षिक सत्रदेखि आंगिक बनाइँदै शिक्षा क्षेत्रलाई दीर्घकालीन विकासको माध्यम बनाउन सरकारलाई आग्रह गरिएको हो।

शिक्षा क्षेत्रको सुदृढीकरणले बसाइँसराइ नियन्त्रण, स्थानीय रोजगारी र उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्याउने पत्रमा उल्लेख छ।



















