
उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। सोमबार राति कारागार प्रशासनले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई जेलमुक्त गरिएको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको थुनामा पठाउने अघिल्लो आदेशलाई उल्ट्याउँदै प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रसाईंमाथि २०८१ चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको झडपमा संलग्न रहेको अभियोग छ। सो घटनामा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो। उनलाई सोही प्रदर्शनको मुख्य आयोजकका रूपमा आरोप लगाइएको थियो।


यसअघि २०८१ चैत २६ गते भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई २०८२ जेठ ३० गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशपछि उनी डिल्लीबजार कारागारमा रहेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत राज्यविरुद्धको अपराधसहित पाँचवटा मुद्दा दायर गरिएको थियो। सरकारी पक्षले प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध तथा एकीकृत कसुरअन्तर्गत सजाय माग गर्दै अभियोजन गरेको थियो।
उक्त घटनामा संलग्न आरोपमा ५० जनाविरुद्ध मुद्दा चलाइएकोमा ३९ जना प्रहरी हिरासतमा रहेका छन्।




























