
अत्तरिया: बबई नदीमा पानीको बहाव तीव्र रूपमा बढेसँगै डुबानको उच्च जोखिम बढेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार, नदीमा पानीको सतह सतर्कता तह नजिक पुगेकाले सुर्खेत र बर्दियाका जोखिमयुक्त क्षेत्रहरूमा उद्धार कार्यका लागि फौज खटाइएको हो।
बबई जलमापन केन्द्रका अनुसार नदीको जलस्तर ७.१७ मिटर पुगेको छ, जुन सतर्कता तह हो। यहाँ ६.८० मिटर पुगेपछि नै खतरा मानिन्छ। जलसतह अझै बढ्दो क्रममा रहेको जनाइएको छ।


संभावित डुबान क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट नायव निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त फौज परिचालन गरिएको छ।
त्यस्तै, नं. ३१ गण बर्दिया र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतका अतिरिक्त सुरक्षा टोलीहरू आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले नागरिकलाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्।
































