
धनगढी: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरेको जानकारी दिएकी छन्।

उनका अनुसार, बाढीमा नेपाली बेपत्ता भएको खबर सार्वजनिक भएपछि तत्कालै नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गर्दै उद्धार कार्यमा तदारुकताका साथ लाग्न निर्देशन दिइएको छ।
“हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारसँग मिलेर तत्कालीन कारबाही अघि बढाउन दूतावासलाई निर्देशन दिएकी छु,” मन्त्री राणाले सामाजिक सञ्जालमार्फत लेखेकी छन्। उनले बाढी–पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना पनि व्यक्त गरिन्।


साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। हाल त्यहाँ खोज तथा उद्धार कार्य जारी छ।
स्थानीय जनप्रतिनिधीका अनुसार, अहिलेसम्म कम्तिमा २२ नेपाली सम्पर्कविहीन छन्। जसमध्ये जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना रहेका छन्।































