कक्षा कोठा व्यवस्थापन केवल शिक्षकको व्यक्तिगत शैली वा व्यवहार मात्र होइन, त्यो विद्यालयको संस्कृति, सामाजिक संरचना, शिक्षानीति र प्रणालीगत पक्षहरूको गहिरो प्रतिबिम्ब हो। नेपालजस्तो बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधताले भरिएको मुलुकमा कक्षा कोठाको व्यवहार, अनुशासन, शिक्षकको दृष्टिकोण र विद्यार्थीप्रति गरिने व्यवहारमा असमानता र असन्तुलन देखिनु कुनै अनौठो कुरा होइन। कतिपय शिक्षकहरूले अवचेतन रूपमा राखेका जातीय, भाषिक वा वर्गीय पूर्वाग्रहले विद्यार्थीहरूमाथि फरक व्यवहार गर्ने र त्यसले सिकाइको समावेशी उद्देश्यलाई घात पुर्याउने समस्या झन् गम्भीर छ। यस्तो असमानताले सिकाइको वातावरण कमजोर बनाइ विद्यार्थीहरूको आत्मविश्वासमा चोट पुर्याउँछ र उनीहरूलाई विद्यालयबाट विमुख बनाउँछ।
धेरै शिक्षकहरूले अनुशासन कायम राख्ने क्रममा अत्यधिक कठोर र दमनकारी उपायहरू अपनाउँछन्, जसले विद्यार्थीको आत्मसम्मान र मनोबलमा गम्भीर असर पार्छ। अमेरिकी अनुसन्धान र नेपालका शहरी तथा ग्रामीण विद्यालयहरूको अध्ययनले देखाउँछ कि सार्वजनिक रूपमा दण्ड दिने, लाजमर्दो बनाउने वा व्यक्तिगत रूपमा आलोचना गर्ने व्यवहारले विद्रोह, आत्महीनता र अस्वीकृतिको भावना जन्माउँछ। यस्तो वातावरणमा सिकाइ केवल औपचारिक प्रक्रिया बन्न पुग्छ, जहाँ डर र अनिश्चयले ज्ञानको आदानप्रदानलाई बाधा पुर्याउँछ। यसैले नीति तहबाट डाटा आधारित निगरानी, समावेशी तालिम र संवेदनशील व्यवहारलाई प्रवर्द्धन गर्नु अपरिहार्य छ।

नेपालमा कक्षा कोठा व्यवस्थापनका समस्या सामाजिक र मनोवैज्ञानिक पाटोहरूसँग गहिरो सम्बन्धित छन्, तर शिक्षकहरू प्रायः सतही व्यवहारको मात्र प्रतिक्रियामा सीमित देखिन्छन्। उदाहरणस्वरूप, दुई वा बढी विद्यार्थीहरू कक्षामा कुराकानी गर्दा समान कारबाही गर्नु, यद्यपि ती विद्यार्थीहरूको व्यवहारका कारण र परिस्थिति फरक हुन सक्छन्। कुनै विद्यार्थी पारिवारिक तनाव वा सामाजिक पीडाबाट गुज्रिरहेको हुन सक्छ भने अर्का विद्यार्थी केवल ध्यान खिच्न खोजिरहेको। यस्ता विविध पृष्ठभूमि नबुझेर समान कारबाही गर्नु दीर्घकालीन रूपमा विद्यार्थी–शिक्षक सम्बन्ध र सिकाइ प्रभावमा नकारात्मक असर पार्छ।
अध्ययनहरूले देखाएका छन् कि अनुशासन र शैक्षिक कठिनाइबीच गहिरो सम्बन्ध छ। गृहकार्य नगर्नु, ध्यान नदिनु वा सरसफाइमा लापरबाही गर्नुजस्ता व्यवहारहरू केवल अनुशासनको समस्या नभई शैक्षिक चुनौतीको संकेत हुन सक्छन्। शिक्षकले यस्ता संकेतहरूलाई बुझेर शिक्षण शैली सुधार्नुपर्ने हुन्छ — जस्तै कठिन विषयलाई सरल भाषामा बुझाउने, उद्देश्य स्पष्ट गर्ने र विद्यार्थीको भावनात्मक अवस्था बुझ्ने प्रयास। यसले कक्षा कोठा व्यवस्थापनलाई अनुशासन मात्र नभई समग्र शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने एउटा माध्यम बनाउँछ।
अर्कोतर्फ, स–साना गल्तीहरूलाई अत्यधिक गम्भीरताका साथ लिएर कठोर कारबाही गर्ने प्रवृत्तिले कक्षा कोठामा तनाव र डर सिर्जना गर्छ। विद्यार्थीहरू आफ्नो स्वतन्त्रता गुमाउँछन् र सिकाइप्रतिको जिज्ञासा घट्छ। शिक्षकहरूले यस्ता व्यवहारलाई लचिलो र सकारात्मक दृष्टिले व्यवस्थापन गर्दै, राम्रो व्यवहारको प्रशंसा गर्नु आवश्यक छ जसले विद्यार्थीको आत्मविश्वास र अनुशासन संस्कार दुवैलाई विकास गर्छ।
नेपालका विद्यालयहरूमा अझै पनि दण्डात्मक शारीरिक र मनोवैज्ञानिक उपायहरू—जस्तै कुटपिट, “टाइम आउट” वा कक्षाबाट निकाल्ने जस्ता—प्रयोग भइरहेका छन्, जुन शिक्षाको उद्देश्य विपरित र विद्यार्थीको आत्मसम्मानमा चोट पुर्याउने क्रियाकलाप हुन्। यसको सट्टा “शान्तिको कुनो” जस्ता नविन अभ्यासहरू अपनाउनु बुद्धिमानी हुन्छ, जसले विद्यार्थीलाई आफ्नो व्यवहारमा सोच्न र शान्त भएर व्यवहार सुधार्न प्रेरित गर्छ।

पारिवारिक, सामाजिक र आर्थिक पृष्ठभूमिका कारण उत्पन्न समस्याहरूलाई नबुझेर कारबाही गर्ने चलनले विद्यालयलाई विद्यार्थीविरोधी बनाउँछ। सार्वजनिक रूपमा विद्यार्थीलाई लाजमर्दो बनाउने अभ्यासहरूले दीर्घकालीन रूपमा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। यस्तो अवस्थाबाट जोगिन शिक्षकहरूले व्यक्तिगत कुराकानी र सहयोगी संवादलाई प्राथमिकता दिनुपर्छ।
शिक्षकले आज्ञापालनलाई मात्र केन्द्रित गरिहाल्दा कक्षा नियन्त्रण डर र दबाबमा आधारित हुन्छ जसले स्वतन्त्र सोच र सिर्जनात्मकता मर्ने खतरा हुन्छ। सहमतिमा आधारित नियम, सकारात्मक संवाद र विश्वासको वातावरणले मात्र कक्षामा स्वाभाविक अनुशासन र सहकार्य विकास हुन्छ। नेपालजस्तो विविधता भएको देशमा जातीय, भाषिक र सामाजिक पूर्वाग्रहहरूलाई शिक्षण प्रक्रियाबाट हटाउनु पर्छ, अन्यथा शिक्षा प्रणालीप्रतिको विश्वास कमजोर हुन्छ र सामाजिक अन्याय गहिरिन्छ।
अन्ततः, कक्षा कोठा व्यवस्थापन केवल अनुशासनको विषय होइन, सामाजिक न्याय, सांस्कृतिक समझदारी र समावेशीताको अभ्यास हो। शिक्षकहरूले प्रत्येक विद्यार्थीको भाषा, संस्कृति र सामाजिक पृष्ठभूमि बुझेर शिक्षण शैली अनुकूल बनाउनुपर्छ। यसका लागि विद्यालयले बहुसांस्कृतिक शिक्षा, मातृभाषा सम्मान र अन्तर-सांस्कृतिक संवादलाई प्रोत्साहन गर्नुपर्छ।
शिक्षक प्रशिक्षणमा सामाजिक न्याय, पूर्वाग्रह हटाउने अभ्यास र समावेशी व्यवहार व्यवस्थापन अनिवार्य बनाउन आवश्यक छ। विद्यालयमा विद्यार्थी आवाज र अभिभावक सहभागिता सुनिश्चित गरिनु पर्दछ जसले शिक्षा प्रणालीलाई न्यायोचित र प्रभावकारी बनाउँछ।
कक्षा व्यवस्थापनमा ‘डेटा इक्विटी’ दृष्टिकोण अवलम्बन नगर्ने र व्यक्तिगत पूर्वाग्रहलाई नचिन्ने नीति निर्माणले असमानता मात्र बढाउँछ। शिक्षकहरूले आफ्ना व्यवहारमा आत्ममूल्याङ्कन गर्नुपर्छ—“के मैले सबैलाई समान व्यवहार गरें?” र “के म कुनै पूर्वाग्रहमा थिएँ?” भन्ने प्रश्नले सुधारको बाटो देखाउँछ।
निष्कर्षमा, कक्षा व्यवस्थापन शिक्षकको मात्र होइन, सम्पूर्ण विद्यालय र समुदायको साझा जिम्मेवारी हो। शिक्षक, प्रशासन, अभिभावक र नीति निर्माताबीच सहकार्य र संवादले मात्र समावेशी, न्यायोचित र गरिमायुक्त शिक्षा सम्भव छ। यसरी मात्र कक्षा कोठामा शान्ति, सहकार्य र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सकिन्छ।
लेखक
डम्मर सिंह साउद
उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पस