देशभर गाईजात्रा पर्व उल्लासका साथ मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

Image
Nisarga Hospital

आज देशभर, विशेष गरी काठमाडौं उपत्यकामा, रङ्गीन झाँकी, नाचगान, हास्यव्यङ्ग्य र प्रहसनसहित गाईजात्रा पर्व उल्लासका साथ मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्ने यो सांस्कृतिक पर्व आज विशेष रौनकमा हुन्छ।

CP Hospital Dhangadhi
Attariya Hospital

गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ। सहभागीलाई दूध, फलफूल, चिउरा, दही, रोटी र नगद दान गर्ने प्रचलन अझै जीवित छ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सहज हुन्छ।

यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको मानिन्छ। पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन उनले गाईजात्रा निकाल्ने आदेश दिए। पछि रानीको मुस्कान फर्काउन यसमा हास्यव्यङ्ग्य पनि समावेश गरियो।

प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित दरबार हुँदै गाईजात्रा निकाल्ने परम्परा आजसम्म कायम छ। उपत्यकाबाहेक बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायत नेवार समुदायको बसोबास भएका सहरमा पनि यो पर्व धूमधामका साथ मनाइन्छ।

गाईजात्रा हास्यव्यङ्ग्यको पर्व पनि हो, जहाँ समाजका विकृति–विसङ्गति उजागर गरिन्छ र सचेतना फैलाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना तथा काठमाडौंको ठमेलमा प्रदर्शित स्वर्ण रजताक्षरका पुस्तकहरू दर्शकको आकर्षणको केन्द्र बन्छन्।

सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।