नेपालका युवाको अवस्था र चुनौती: सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस

Image
Nisarga Hospital

संसारभर युवाको उत्सव, सम्भावना र संकल्पको दिन, अगस्ट -12 । तर नेपालका युवाको कथा उत्सवभन्दा बढी संघर्षको छायामा बुनिएको छ । तथ्यांक भन्छ, देशको करिब ४२ प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहमा पर्छ । यो जनशक्ति राष्ट्रको मेरुदण्ड हुनुपर्ने हो, तर वास्तविक चित्र अर्कै छ । १५ देखि २४ बर्ष उमेर समूहको बेरोजगारी दर करिब २०.८ प्रतिशत वरिपरि छ, जुन दक्षिण एशियाकै मानिन्छ । धेरै युवाहरु डिग्री हातमा लिएर पनि रोजगारीको ढोका सम्मको बाटो पच्छ्याउनमै व्यस्त छन रोजगार बन्ने त फगत सपना मात्रै । शिक्षा छ, तर बजारले खोज्ने सीप छैन, सीप छ तर अवसर छैन । धान पाक्यो तर बाला टुक्र्यो,ताला छ तर, चाबी हरायो भन्या जस्तो ।

CP Hospital Dhangadhi

यस अवस्थाले एउटा ठूलो र स्थायी प्रवृत्ति जन्माएको छ “श्रम-प्रवास” । वर्षेनी लाखौं युवाहरु परदेशिन्छन्, आफ्नो श्रम, ऊर्जा र सपना विदेशी भूमिमा बेच्न बाध्य हुन्छन् । यसको प्रतिफलमा नेपालले २०२३ मा मात्र करिब ११ अर्ब अमेरिकी डलरको रेमिट्यान्स पायो । यो रकमले देशको अर्थतन्त्रलाई अक्सिजन दिइरहेकोत छ, तर यसको मूल्य अपूरणीय छ । उनीहरुको परिवार टुट्छ, गाउँमा खेत बाँझो पर्छ, समग्रमा गाउँ रित्तिछन फलत: स्थानीय स्तरमा नेतृत्व लिन सक्ने हातहरू घट्छन् ।

राजनीतिमा युवाको उपस्थिति द्वन्द्वपूर्ण छ । चुनावको बेला उनीहरू पोस्टर टाँस्ने, र्‍याली भर्ने, नारासहित सडक तताउने मुख्य पात्र बन्छन् । तर मतदान सकिएपछि ती हातहरू नत नेतृत्वमा देखिन्छन नत नीति निर्माणको टेबलमानै । संसदमा ४० वर्ष मुनिका सांसद औंलामा गन्न सकिने छन् । राजनीतिक दलको नेतृत्व तहमा त युवालाई साँचो जिम्मेवारी दिने परम्परा अझै जमेको छैन, बरु कमरेड, बा, दाई भाउजुकै स्तुतिगानमा व्यस्त गराइन्छ । फलस्वरूप, राजनीतिक संरचनामा नयाँ विचार, नयाँ दृष्टिकोण र नयाँ जोशको कमी झल्किन्छ ।

nawajiwan

राज्य र दलहरूको उदासीनता अझ बिडम्बनापूर्ण छ । चुनावी घोषणा-पत्रमा रोजगारीको ग्यारेन्टी, स्टार्टअप फण्ड, उद्यमशीलता प्रोत्साहनजस्ता गुलिया वाचा हुन्छन्, तर चुनाव जितेपछि तिनको फाइल कागजी अलमारीमै धुलो जमाउन छोडिन्छ । युवालाई सीप सिकाउने तालिम कार्यक्रम सुरु हुन्छन् तर अनुगमन र गुणस्तरीय संरचना नहुँदा प्रभाव न्यून हुन्छ । तथापि तर यो कथा परिवर्तन गर्न नसकिने भने होइन । यदि राज्यले युवालाई खर्च होइन, भविष्यको लगानीको रूपमा हेर्छ भने । उच्च सम्भावना भएका क्षेत्र, कृषि मूल्य श्रृंखला, नवीकरणीय ऊर्जा, पर्यटन, सूचना-प्रविधि आदि क्षेत्रमा लक्षित नीति र लगानी गर्न सक्यो भने । उद्योग र शिक्षाबीच सहकार्य गरेर स्थानीय श्रम बजार अनुकूल सीप उत्पादन गर्ने संरचना बनाइए युवाले देशमै रोजगारी पाउनेछन् । विदेशबाट फर्किएका युवाको सीप र पुँजीलाई उद्यममा रूपान्तरण गर्न विशेष योजना लागू गर्न राज्य उदासिन हुनुहुदैन ।

Attariya Hospital

सबैभन्दा महत्त्वपूर्ण, राजनीतिक संरचनामा युवालाई केवल “कोटा” होइन, निर्णय गर्ने अधिकारसहितको स्थान दिन झनै हिचकिचाउनु हुदैन । याँहा दलहरु चुनावमा मात्र युवालाई ‘कलात्मक रूपमा’ उठाउँछन् । युवालाई ग्यांग बनाउन, विरोधीलाई तह लगाउन, क्याम्पेन र मतदानका लागि प्रेरित गर्ने गरिन्छ तर पछि नीति, बजेट र दीर्घकालीन अवसरमा प्राथमिकता नदिने प्रवृत्ति बढ्दो छ । यसले दीर्घकालीन विश्वास संकट सिर्जना गरेको छ । यसले नीतिगत लगानी विहिनता र प्रामाणिक युवानीति कार्यान्वयनको अभाव भएको प्रष्ट हुन्छ ।

तथापि युवाहरूको भूमिका भनेको केवल राजनीतिक दलका नेता-कार्यकर्तालाई हात्ती चढाइदिने महोत्सवमा उपस्थित हुने मात्र होइन, कहिलेकाहीँ हात्तीको गति र बाटोबारे पनि प्रश्न उठाउने हो । दलमा आबद्ध हुनु अपराध होइन, तर दलका निर्णयहरू आफ्नो भविष्यसँग मेल खान्छन् कि खादैनन् भनेर थाह पाउनु, आवश्यक परे नेतृत्वलाई खबरदारी गर्नु पनि हो । नेताले युवाका लागि भनेर ल्याउने नीति र कार्यक्रम युवाको रोजगारी, शिक्षा वा व्यवसायमा असर पार्छ भने त्यसको समीक्षा गर्नु र आवाज उठाउनु जरुरी छ । अर्को कुरा, विदेशको सपना सजिलो लाग्न सक्छ, तर आफ्नो गाउँ-सहरमै सम्भावित व्यवसायिक अवसरको अध्ययन गरेर, साना-ठूला उद्यममा लगानी गर्न हिच्किचाउनु हुँदैन । किनकि युवाहरूले आफ्नै देशमा रोजगारी र सम्भावना सिर्जना नगरेसम्म नेताहरूको चुनावी भाषणमा मात्र “समृद्धि”को कथा सुन्ने बानी बसिरहनेछ । यसर्थ, आफैँ सक्षम बन्नु, वैचारिक स्वतन्त्रता कायम राख्नु र नेताको “जस्ले दिँदैछु” भन्ने भाषणभन्दा “हामीले बनाउन सक्छौँ” भन्ने आत्मविश्वासमा उभिनुनै साँचो युवा भूमिका हो ।

अन्तर्राष्ट्रिय युवा दिवस केवल एउटा मिती होइन, यो अवसर हो । राज्य, दल, निजी क्षेत्र र युवा स्वयंले एकै मञ्चमा आएर दिगो, मापनयोग्य र भरोसाजनक कदम चाल्न आवश्यक छ । किनकि आजको युवा निराश भयो भने भोलिको नेपाल दिशाहीन हुन हुनेछ, तर आजको युवा सशक्त भयो भने भोलिको नेपाल आत्मनिर्भर र समृद्ध बन्नेछ । सम्भावना ठूलो छ, तर त्यो सम्भावनालाई उज्यालो पार्ने जिम्मा हामी सबैको हो । नेपालको युवाशक्ति समृद्धिको ठूलो स्रोत हो तर यो स्रोत तब मात्र फाइदाजनक हुन्छ जब राज्य, राजनीतिक दल, निजी क्षेत्र र युवाहरुबीच दीर्घकालीन रणनीति र समन्वय कायम हुन्छ । वर्तमान तथ्याङ्क हेर्दा उदेख लाग्ने देखिन्छ । बेरोजगारी २० प्रतिशत भन्दा माथिको आँकडाले पनि देश ठूलो मात्रामा रेमिट्यान्स निर्भरतामा छ भन्ने संकेत गर्छ त्यसैले पनि छिट्टै लक्ष्यपूर्ण नीतिगत लगानी आवश्यक भएको छ । नत्र युवाहरुको विदेशनिवृत्ति र उनीहरुमा असमानता बढ्ने निश्चित प्राय: छ । यसर्थ पनि अन्तर्राष्ट्रिय युवा दिवसलाई (अगस्ट -१२, २०२५) अवसर बनाएर सरकारले वास्तविक र मापनयोग्य कार्यक्रम घोषणा गरी युवा विश्वास पुनर्निर्माणमा जोड दिनु जरुरी छ ।

लेखक सुदुरपश्चिम प्रदेश युवा परिषदका निवर्तमान कार्यकारी सदस्य, अधिवक्ता एवम् अध्यापक हुन् ।