
कञ्चनपुर: कृष्णपुर नगरपालिका २ वाणी–बंक क्षेत्रमा नदी कटानी नियन्त्रण र वातावरण संरक्षणका लागि मंगलबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुर र मर्सीकोर नेपालको आर्थिक सहयोगमा, सामुदायिक विपद व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रजातिका २ हजारभन्दा बढी विरुवा रोपिएका छन्।


यस अभियान अन्तर्गत बनहरा नदी र बन्द नदीका उच्च जोखिम क्षेत्रहरू—अठन्नीफाटा र नयाँबस्तीमा सामूहिक वृक्षारोपण गरिएको हो। अठन्नीफाटा क्षेत्रमा २ सय बाँस, ५ सय भेटीबर, ५ सय नेपियर घाँस र ५ सय अम्रिसो रोपिएको छ भने नयाँबस्ती क्षेत्रमा १ सय बाँस, १ सय भेटीबर, १ सय नेपियर र १ सय अम्रिसो रोपिएको छ।
कार्यक्रममा कृष्णपुर–२ का वडा सदस्य राजेन्द्रबहादुर सिंह, सव डिभिजन वन कार्यालय वाणीका वन रक्षक हरेन्द्र धामी, NNSWA की फिल्ड सहयोगी अधिकृत रिमा खनाल, सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

फिल्ड सहयोगी अधिकृत खनालका अनुसार, वृक्षारोपण जलबायु उत्थानशील समुदाय (CRC) परियोजना अन्तर्गत गरिएको हो। हाल यस परियोजनाले कृष्णपुर–२ का मछेली नदी (खल्लागोठ), बन्द नदी (नयाँबस्ती) र बनहरा नदी (अठन्नीफाटा) गरी तीन स्थानलाई आवरण गरेको छ। यसबाट खल्लागोठका ६८, नयाँबस्तीका ५५ र अठन्नीफाटाका ६१ घरधुरी प्रत्यक्ष लाभान्वित छन्।

अठन्नीफाटा सामुदायिक विपद व्यवस्थापन समितीका अध्यक्ष सत्यराज कठायतले खेतीयोग्य जमिन बर्सेनि बाढीले कटानी गर्दा ठूलो समस्या हुने बताउँदै यसको दीर्घकालीन समाधानका लागि वृक्षारोपणलाई महत्त्वपूर्ण पहलका रूपमा अगाडि बढाएको बताए। समितीकी सचिव गौमती बोहराले कटानको पीडा भोगिरहेका स्थानीयको जीवनरक्षाका लागि बिरुवा संरक्षण पनि सामूहिक जिम्मेवारीको विषय भएको उल्लेख गरिन्।

त्यस्तै, बन्द नदी विपद व्यवस्थापन समिती नयाँबस्तीका स्थानीय तथा पूर्वसूचना प्रणाली संयोजक रामसिंह रावलले वृक्षारोपण वर्षैपिच्छे हुँदै आए पनि स्थायी समाधानका लागि पक्की तटबन्ध अपरिहार्य भएको बताए। “सरकारले ध्यान दिनुपर्ने ठाउँमा लापरबाही देखाएको छ, तर संस्थाहरूले बेलाबेलामा जैविक तटबन्ध, तालिम र वृक्षारोपणमार्फत सहयोग गर्दै आएका छन्,” उनले भने।

वडा सदस्य राजेन्द्रबहादुर सिंहले भने, “वृक्षारोपणले कटानी न्यूनीकरण मात्र होइन, हरियाली विस्तार र जीविकोपार्जनमा समेत मद्दत पुर्याउँछ। रोपिएका बिरुवा जोगाउन वडा कार्यालयमार्फत तारजालीको व्यवस्था गरिनेछ।”
यस अभियानले बगर संरक्षणलाई प्रकृतिमै आधारित समाधान (NBS) मार्फत अघि बढाउने उद्देश्य लिएको छ। अम्रिसो, बाँस, भेटीबर र नेपियरजस्ता प्रजातिहरूले नदी कटानी नियन्त्रणसँगै गाईबस्तु पालन र स्थानीय आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले समुदायले यसलाई दीर्घकालीन समाधानको सुरुवातका रूपमा लिएका छन्।




















