
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो। नेपालका लागि कुशल मल्लले २२ बलमा २९ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन जोडे। लोकेश बमले २४, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रनको योगदान दिए।
१४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमै १०६ रनमा समेटियो। विपक्षी टोलीका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन जोड्न सफल भए।


नेपालका लागि सोमपाल कामी बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिएका थिए। त्यस्तै, कुशल भुर्तेलले २ विकेट हात पारे भने रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले समान १–१ विकेट लिए।
रेनेगेड्सका बलर फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २–२ विकेट लिएका थिए।





























