
जिल्लाका युवा वीरेन्द्र सिंह ‘बिरु’ले उच्च शिक्षा पूरा गरेर ब्याचलर अध्ययन गरेका थिए। उनी ठुलो सपना बोकेका थिए—आफ्नै गाउँमै बसेर केही गर्न सकिन्छ, स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ।


तर वास्तविकताले उनको सपना च्यातेर फ्याँकिदियो। बेरोजगारीको चपेटामा परेका बिरु लाखौं युवाजस्तै विदेशिन बाध्य भए। पढाइ पूरा गरेर केही परिवर्तन ल्याउने आशा बोके पनि रोजगारी नपाउनुले उनलाई असहाय बनायो।
“हामीलाई पढाइले होइन, पैसाले मूल्याङ्कन गर्ने समाजमा के गर्ने? गाउँमै केही गर्ने रहर थियो, तर परिस्थिति यति कठोर भयो कि अन्ततः विदेशिनै पर्यो,” बिरुले आँसु झार्दै बताए।
आज हजारौं बिरुहरू गाउँका बाटो, खेतबारी र आफ्ना घरपरिवार छोडेर कतार, दुबई, साउदी, मलेसिया, कुवेत र भारतका सहरहरूमा पसिना बगाइरहेका छन्। देशमा अवसर र सम्भावना हुँदाहुँदै पनि व्यवस्थाले उनीहरूलाई बिदेसतर्फ धकेलिरहेको यो दर्दनाक यथार्थ हो।
स्वदेशमै बसेर आफ्नो सीप र शिक्षाले समाजमा योगदान दिने सपना बोकेका युवाहरूको रहर अधुरो रहँदा, केवल ‘विदेशतिरैको बाटो’ देखिनु, नेपालकै भविष्यमा ठूलो प्रश्नचिन्ह बनाएको छ।




















