
वैदिक सनातन धर्मावलम्बीहरूले भाद्र शुक्ल अष्टमीका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। यो व्रत आश्विन कृष्ण सप्तमी अर्थात् भदौ २४ गते बुधबारसम्म चल्नेछ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा लिइने यस व्रतमा ब्रह्मचर्यमा रहनु, भूमिमा सुतेर व्रत बस्नु, दिनमा एक छाक हविष्य भोजन गर्नु र बेलुकी चन्द्रमालाई अर्घ्य दिने परम्परा छ।

धार्मिक विश्वास अनुसार यस व्रतले घरमा लक्ष्मीको स्थायी बास भई दुःख–दारिद्रय नाश गरी सुख, शान्ति र समृद्धि ल्याउँछ। शास्त्रअनुसार भगवान् शंकरले व्रत विधि पार्वतीलाई बताउनुभएको र देवराज इन्द्रले महालक्ष्मी अष्टकम् स्तोत्र रचि पूजाआराधना गरेको उल्लेख पाइन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार महालक्ष्मी अष्टकम् पाठ गर्नाले धन–सम्पत्ति, वैभव प्राप्त हुने मात्र होइन, शत्रुनाशसमेत हुने धार्मिक विश्वास छ।




















