
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। यसको प्रभावले देशभर सामान्यदेखि आंशिक बदली कायम छ।

आज बिहान कोशी, बागमतीका थोरै भूभागमा र मधेस, गण्डकी, लुम्बिनी तथा कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का–मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनीका साथै तराईका केही स्थानमा मध्यम वर्षा र मधेस तथा लुम्बिनी तराईमा हावाहुरीको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षा र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

संभावित भारी वर्षालाई ध्यानमा राख्दै जनताले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


















