नेपालको सामाजिक संरचना र परम्परागत मूल्य–मान्यतामा अचेल ठूलो रूपान्तरण भइरहेको छ। विशेष गरी शहरी क्षेत्रमा युवा पुस्ताको जीवनशैली, सोच, आचरण र सम्बन्धप्रतिको दृष्टिकोणमा आएको परिवर्तनले समाजमा नयाँ तर गम्भीर चुनौतीहरू ल्याइरहेको छ। परम्परागत विवाहप्रणालीभन्दा भिन्न रूपमा युवाहरूबीच ‘लिभ–इन’ सम्बन्ध बढ्दो देखिन्छ। यो सम्बन्ध सतहमा स्वेच्छाले हुने प्रेम र सहमतिमा आधारित देखिए पनि, गहिराइमा गएर हेर्दा यसले धेरै प्रकारका सामाजिक, नैतिक, मनोवैज्ञानिक र कानुनी समस्या जन्माइरहेको छ। नेपाल जस्तो पारिवारिक र सामूहिक मूल्यमा आधारित समाजमा यस्तो सम्बन्धले ल्याउने परिणाम केवल दुई व्यक्तिको जीवनमा मात्र सीमित हुँदैन, यो व्यापक सामाजिक संकटमा परिणत हुने सम्भावना उच्च हुन्छ।
आजका युवा विद्यार्थीहरूमा देखिने प्रवृत्ति चासोको विषय हो। कक्षा ११, १२ वा विश्वविद्यालय स्तरका विद्यार्थीहरू अभिभावकको निगरानीबाट टाढा शहरमा कोठाभाडा लिएर बस्छन्। उनीहरू अध्ययनको नाममा बाहिर बस्ने भए पनि व्यवहारमा प्रेम सम्बन्धलाई प्राथमिकता दिने अवस्था देखिन्छ। कतिपय अवस्थामा आर्थिक रूपमा सम्पन्न देखिने युवकले कमजोर पारिवारिक पृष्ठभूमि भएकी युवतीलाई आफ्नो बसाइमा सामेल गराउँछ। सुरुमा यो सम्बन्ध प्रेम, माया र भविष्यमा विवाह गर्ने वाचा–प्रतिवाचामा आधारित हुन्छ, तर समयसँगै शक्ति असन्तुलन र निर्भरता बढ्दै जाँदा सम्बन्ध ब्ल्याकमेल, दवाब र भावनात्मक शोषणमा परिणत हुन्छ। जब युवतीले आफ्नो जीवनस्तर सुधार्छे, जब ऊ आत्मनिर्भर बन्न थाल्छे, त्यतिबेला उसलाई यसअघिको सम्बन्ध बोझझैं लाग्न सक्छ। फलस्वरूप, सम्बन्धविच्छेद वा अझै गम्भीर अवस्थामा बलात्कार वा जबर्जस्ती करणीको आरोपसमेत लाग्नसक्छ। यसले युवकको जीवन नष्ट गरिदिन्छ भने युवतीको भविष्य पनि असुरक्षित बन्छ।

यस्तो परिस्थितिले दुबै परिवारलाई समेत संकटमा पार्छ। सुरुमा अभिभावकहरूले बेवास्ता गर्ने, ‘आजकलको जमाना यस्तो हो’ भनेर टार्ने, वा आफ्ना सन्तानलाई ‘बुझ्छ’ भनेर मौन बस्ने प्रवृत्तिले समस्या झन् गहिरिन्छ। तर जब कानुनी विवाद उत्पन्न हुन्छ, जब समाजमै बद्नाम हुने स्थिति आउँछ, तब अभिभावकहरूको मौनता नै ठूलो गल्ती सावित हुन्छ। त्यसैले परिवारले सुरु देखिनै सजग भई आफ्ना छोराछोरीलाई सही बाटोमा मार्गदर्शन गर्नुपर्ने हुन्छ। तर दुर्भाग्यवश, अहिलेको नेपाली समाजमा परिवारिक संवाद, निगरानी र सन्तुलन कमजोर हुँदै गएको छ।
लिभ–इन सम्बन्धलाई केहीले स्वतन्त्रताको अभिव्यक्ति मान्छन्। उनीहरूका अनुसार, युवाले आफ्नो जीवन आफ्नै इच्छाअनुसार जिउने अधिकार राख्छन्। तर अधिकारसँगै जिम्मेवारी र त्यसका परिणामबारे सचेतता आवश्यक हुन्छ। नेपालको सांस्कृतिक परिवेशमा विवाह केवल दुई व्यक्तिको सम्झौता मात्र होइन, दुई परिवारबीचको सम्बन्ध हो। विवाह सामाजिक स्वीकृति प्राप्त गरेको संस्था हो, जसले सन्तानको भविष्य, कानुनी अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्दछ। तर लिभ–इन सम्बन्धमा यी कुराहरू अस्पष्ट हुन्छन्। जब सम्बन्ध बिग्रिन्छ, सम्पत्ति, उत्तरदायित्व वा कानुनी अधिकारको सवालमा ठूलो समस्या खडा हुन्छ।
नेपालमा विवाहलाई गम्भीर रूपमा लिइन्छ, तर अचेल विवाहको मूल्य कमजोर हुँदै गएको छ। पहिले बिहेको कुरा गर्दा परिवार र आफन्तजनबीच लामो छलफल, विचार–विमर्श र तयारी हुन्थ्यो। अहिले भने प्रेम सम्बन्ध सुरु हुँदा नै ‘भविष्यमा बिहे गर्छौं’ भनेर सजिलै वाचा हुन्छ, तर समयसँगै त्यो वाचा पूरा हुँदैन। कतिपय अवस्थामा बिहे भएको केही महिनाभित्रै डिभोर्स हुन्छ। यसरी असफल सम्बन्धको चक्रले युवाको जीवनलाई निराशा, तनाव र मानसिक रोगतर्फ धकेलिरहेको छ।
यस्तो समस्या केवल व्यक्तिगत सम्बन्धमै सीमित छैन। यसको सामाजिक प्रभाव अझ व्यापक छ। जब सयौं युवाहरूको जीवन यसरी असुरक्षित र अनिश्चित बन्छ, तब समाजकै उत्पादनशील शक्ति नष्ट हुन्छ। युवा उमेरमा पठनपाठन, सीप विकास, करियर निर्माणमा लगाउनुपर्ने ऊर्जा अनावश्यक सम्बन्ध, पार्टी, फेसन र विलासी जीवनमा खर्च हुन्छ। फलस्वरूप, पढाइमा कमजोर नतिजा आउँछ, रोजगारी पाउन कठिन हुन्छ, र दीर्घकालीन भविष्य संकटग्रस्त हुन्छ।
नेपालका धेरै युवा भविष्य नेपालमै नदेखेर विदेशतिर गइरहेका छन्। वैदेशिक रोजगारी, शिक्षा र आप्रवासनको लहर हरेक वर्ष बढ्दै गएको छ। यसरी लाखौं युवाहरू विदेशिनु देशका लागि ठूलो चुनौती हो। जसरी युवाहरू विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स यहाँ घरपरिवारले व्यर्थ खर्चमा लगाइरहेका छन्, त्यो पनि चिन्ताजनक पक्ष हो। बर्थडे पार्टी, एनिभर्सरी, फेसन शो, महंगा गहना र झुठो सान प्रदर्शनको संस्कृतिले समाजलाई सतही बनाइरहेको छ। मेहनतको पैसालाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा फिजुल खर्चमा उडाइँदा देशको आर्थिक आधार बलियो बन्न सक्दैन।

युवाहरूमा देखिएको अर्को समस्या भनेको अनुकरणको प्रवृत्ति हो। पश्चिमी समाजमा देखिएको लिभ–इन सम्बन्धलाई नेपालमा पनि सामान्य रूपमा अपनाउनुपर्ने भन्ने सोचले यो समस्या बढाएको छ। तर त्यहाँ र यहाँको सामाजिक संरचना फरक छ। पश्चिमी मुलुकमा कानुनी सुरक्षा, सामाजिक बीमा, आत्मनिर्भरता र व्यक्तिगत जिम्मेवारीको स्पष्टता हुन्छ। तर नेपालमा त्यस्तो व्यवस्था छैन। युवती गर्भवती भएमा वा सम्बन्ध बिग्रिएमा, त्यसको जिम्मेवारी स्पष्ट हुने अवस्था छैन। यसैले, नेपालमा लिभ–इन सम्बन्ध पश्चिमी समाजमा जस्तो व्यवस्थित हुन सक्दैन।
समाजमा देखिएका यस्ता प्रवृत्तिहरूलाई समाधान गर्न सजिलो छैन। तर समाधान असम्भव पनि होइन। सबैभन्दा पहिले अभिभावक र परिवारले आफ्ना सन्तानसँग घनिष्ठ संवाद राख्नुपर्छ। केवल नियन्त्रण र दवाब होइन, सन्तुलित सल्लाह र प्रेमपूर्ण मार्गदर्शन आवश्यक हुन्छ। विद्यालय र कलेजहरूले पनि केवल शैक्षिक ज्ञान मात्र नभई जीवन–कौशल, नैतिक मूल्य र यौन शिक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। राज्य र सरकारको पनि यसमा महत्वपूर्ण भूमिका हुन्छ। सरकारले चेतनामूलक कार्यक्रमहरू, मिडिया अभियानहरू र परामर्श सेवाहरूलाई प्राथमिकता दिनुपर्छ।
समाजमा गलत अभ्यासहरू समयमै रोक्न सकिएन भने, त्यसले दीर्घकालीन रूपमा समाजलाई कमजोर बनाउँछ। लिभ–इन सम्बन्ध, झुठो विलासिता, फिजुल खर्च, धर्म र संस्कृतिको नाममा हुने गलत अभ्यास, यी सबै नेपाली समाजलाई कमजोर बनाइरहेका छन्। यस्ता अभ्यासले युवाको भविष्य मात्र होइन, देशकै विकास अवरुद्ध हुन्छ। नेपाललाई समृद्ध बनाउन युवाको ऊर्जा, सीप र समयलाई उत्पादनशील क्षेत्रमा लगाउन जरुरी छ।
अझै पनि सकारात्मक पक्ष त्यति नै छ। धेरै युवा लोकसेवा आयोग वा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा जुटेका छन्। कतिपय युवाहरू उद्यमशीलता, नवप्रवर्तन र सामाजिक सेवामा पनि लागिरहेका छन्। तर यस्तो सकारात्मक प्रयासलाई प्रोत्साहन गर्ने संस्था र व्यक्तिहरू पर्याप्त छैनन्। समाज र राज्यले यस्ता युवालाई प्रोत्साहित गर्न सकेमा, उनीहरू देशको मेरुदण्ड बन्न सक्छन्। नकारात्मक अभ्यासमा लागेका युवालाई सचेत पार्ने, सही बाटोमा फर्काउने, र सकारात्मक काममा संलग्न युवालाई सम्मान गर्ने वातावरण सिर्जना गर्न जरुरी छ।
यसरी, लिभ–इन सम्बन्ध र त्यसबाट उत्पन्न हुने समस्या कुनै व्यक्तिगत मामिला मात्र होइन, यो सामाजिक संकट हो। यसलाई वेवास्ता गर्नु हाम्रो सामूहिक गल्ती हुनेछ। युवालाई समयमै मार्गदर्शन नगरेसम्म, अभिभावकले जिम्मेवारी नलिँदासम्म, शिक्षा प्रणालीले जीवन–मूल्यबारे सचेतना नदिलाएसम्म, र सरकार स्वयं सक्रिय नभएसम्म यो समस्या झन् बढ्दै जानेछ। यसले केवल व्यक्तिगत जीवन मात्र होइन, देशको भविष्य नै अन्धकारतर्फ धकेल्न सक्छ।
नेपालजस्तो मुलुक, जहाँ भविष्यका सम्भावना युवामा भरपर्ने गर्छ, त्यहाँ युवाको जीवनशैलीलाई गम्भीरतापूर्वक लिनुपर्छ। लिभ–इनको नाममा भइरहेको अनियन्त्रित सम्बन्धले सिर्जना गर्ने मानसिक, सामाजिक र कानुनी समस्याबारे सचेतना फैलाउनु आजको आवश्यकता हो। युवालाई प्रेम, विवाह र जीवनको जिम्मेवारीपूर्ण दृष्टिकोणबारे शिक्षित गर्न सकियो भने मात्र नेपालले आफ्नो उत्पादनशील शक्तिलाई बचाउन सक्छ। अन्यथा, आजका यी स–साना समस्या भोलि समाजकै ठूलो संकटमा परिणत हुनेछन्।
लेखक: प्रा. डा. मुकुन्द कलौनी
सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुर