
जेन जीको नेतृत्वमा भएको आन्दोलनलाई नेपालको राजनीतिक इतिहासको एउटा मोडका रूपमा बुझ्न सकिन्छ। लामो समयदेखि देशलाई जरा गाडेर बसेको भ्रष्टाचार, अन्याय, अत्याचार, दमन, विभेद र असमानताको विरुद्धमा उठेको यो स्वर अब दबाउन सकिने अवस्था छैन भन्ने कुरा आन्दोलनले प्रमाणित गरिदिएको छ। विगतमा नागरिकलाई शासकहरूले दास ठान्दै शासन गरेको, आफ्नो दलगत स्वार्थ र व्यक्तिगत सम्पत्ति आर्जनलाई राजनीति बनाएको अवस्थाले देशलाई अधोगतितिर धकेलेको स्पष्ट छ। यसरी राजनीति सेवा नभई स्वार्थ पूर्तिको साधन बनेपछि आम नागरिकमाझ असन्तोष र आक्रोश बढ्नु स्वाभाविक थियो। यही असन्तोषलाई व्यवस्थित र संगठित रूपमा अभिव्यक्त गर्ने पहिलो प्रयास जेन जेन जीले गरेको हो, जसले पुराना दल र नेताहरूको भ्रमको पर्दा च्यातिदिएको छ।

नेपालमा दशकौंयता चल्दै आएको नेतातन्त्र र गुटबन्दीले जनताभन्दा दललाई ठूलो मानेको छ। शासकहरूले जनताको नाममा देशलाई लुटे, अवसर र अधिकारलाई कब्जा गरे, सम्पत्ति आर्जनलाई वैधानिकता दिन कानुन र संवैधानिक निकायहरूलाई दुरुपयोग गरे। यस्तो व्यवस्थामा सत्य बोल्ने, विरोध गर्ने वा न्याय खोज्ने नागरिक नै पीडित बन्नुपर्ने अवस्था सिर्जना भयो। तर, पापको घडा भरिँदा फुट्छ भन्ने उखानलाई जेन जीको आन्दोलनले जीवन्त प्रमाणित गरिदिएको छ। भ्रष्ट नेताहरूले कमाएको पापले उनीहरूलाई नै पोलेको छ, जनतामाझ उनीहरूको असली अनुहार प्रकट भएको छ, र आज उनीहरू आफैं जनदबाबको कारण सजायको घेरामा पुगेका छन्। यसबाट समाजले सिक्नुपर्ने मुख्य शिक्षा भनेको गलत काम सधैं लुक्दैन, अन्ततः उजागर हुन्छ र परिणाम स्वरूप सजाय अनिवार्य भोग्नुपर्छ भन्ने हो।
आन्दोलनको पहिलो चरणले एउटा सकारात्मक चेतना समाजमा फैलाएको छ। अब राजनीतिलाई व्यक्तिगत स्वार्थ, गुटगत शक्ति प्रदर्शन वा सम्पत्ति आर्जन गर्ने माध्यम बनाइने छैन भन्ने आशा जागेको छ। जनताले बुझ्न थालेका छन् कि राजनीति भनेको राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्ने कुरा हो। यो चेतनाले भविष्यमा राजनीतिलाई सेवा केन्द्रित बनाउन ठूलो भूमिका खेल्नेछ। तर, यस चेतनालाई दीर्घकालीन र स्थायी बनाउन युवापुस्ताले अझ संयमित, सचेत र निरन्तर सक्रिय रहनु जरुरी छ। बलिदान व्यर्थ नहोस् भनेर आन्दोलनलाई हिंसात्मक भन्दा पनि शान्तिपूर्ण, योजनाबद्ध र दूरदृष्टियुक्त बनाइनु जरुरी हुन्छ।

यद्यपि, आन्दोलनको बीचमा पुराना दलका अवसरवादी समूहहरूको घुसपैठ पनि देखिएको छ। उनीहरूले आन्दोलनलाई बदनाम गर्ने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने, जलाउने, लुटपाट मच्चाउने, र हिंसा भड्काउने कार्यमार्फत जनआन्दोलनको वास्तविक मर्मलाई कमजोर बनाउन खोजेका छन्। यस्ता गतिविधि पुरानो राजनीतिक संस्कृति र मानसिकताको प्रतिफल हुन्, जसलाई जेन जीले खुलेर अस्वीकार गरेको छ। आन्दोलनको विज्ञप्तिमा समेत यस्ता गतिविधि अवसरवादी समूहहरूले योजनाबद्ध रूपमा घुसपैठ गरी गराएको स्पष्ट रूपमा प्रस्ट्याइएको छ। यसले जनतालाई झन् स्पष्ट पारेको छ कि पुरानो अवसरवादी समूहहरू अब देशको भलो चाहिँदैन, बरु आफ्नो अस्तित्व जोगाउन षड्यन्त्र प्रयोग गर्न मात्र उद्यत छ।
यही कारणले अहिले देश एउटा नयाँ बाटोतर्फ मोडिएको छ। लुटतन्त्र, नातावाद, कृपावाद, गुटबन्दी, अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्धको संघर्षले नयाँ पुस्ताको सोचलाई संस्थागत गरिरहेको छ। यो केवल नेताहरूको विरोध मात्र नभई एउटा मानसिकताको विरोध हो—दास मानसिकता त्याग्दै स्वतन्त्र, विवेकी र सचेत नागरिक बन्ने अभ्यास हो। समाजले अब गलत प्रवृत्तिलाई अस्वीकार गर्दै स्वतन्त्र नेतृत्वलाई खोज्ने दिशामा पाइला चालिरहेको छ। यसको अर्थ अबको राजनीतिमा केवल इमान्दार, योग्य, सक्षम र निष्ठावान व्यक्तिहरूलाई मात्र जनताले स्वीकार्नेछन्।
युवा पुस्ताले शान्तिपूर्ण तर दृढ अभियानलाई निरन्तरता दिनुपर्ने अर्को कारण भनेको स्वार्थी समूहहरूको चालवाजीसँग बच्नु हो। यस्ता समूहहरूले आन्दोलनलाई आफ्नो स्वार्थ पूर्तिको साधन बनाउन खोज्छन्, तर युवाहरूले विवेक र सचेतताका साथ त्यस्ता षड्यन्त्रलाई परास्त गर्नुपर्छ। त्यस्तै, योग्य, सक्षम र राष्ट्रप्रेमी व्यक्तिहरूलाई आह्वान गरी एउटा साझा दृष्टि र रणनीति निर्माण गर्न सकियो भने मात्र नयाँ नेपाल निर्माणको सपना साकार हुनेछ। यसका लागि अन्तरिम सरकार गठन, सम्पत्ति छानबिन, भ्रस्टाचारबाट कमाएको सम्पत्तिको राष्ट्रियकरण, अपराधीलाई कठोर सजाय, प्रत्यक्ष निर्वाचित नेतृत्व, योग्यता प्रणालीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता जस्ता ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। संविधान पुनर्लेखन र समयसापेक्ष सुधार, निर्वाचन प्रणालीमा आमूल परिवर्तन, संवैधानिक निकायहरूको पुनर्गठन, र राजनीतिक भागबन्डाबाट भएका नियुक्तिहरूको तत्काल अन्त्य पनि अपरिहार्य देखिन्छ।
नेपालको संवैधानिक निकाय, न्यायालयदेखि विश्वविद्यालयसम्म, राजनीतिक पहुँच र भागबन्डीका कारण गम्भीर संकटमा छन्। त्यहाँ दक्षता, पारदर्शिता र निष्पक्षताभन्दा पनि दलगत आस्था हेरी नियुक्ति हुने परम्पराले संस्थागत क्षति पुर्याएको छ। यदि यी निकायलाई स्वच्छ पार्न सकिएन भने आन्दोलनले ल्याएको चेतना पनि दीर्घकालीन रूपमा टिक्न सक्दैन। त्यसैले योग्य, इमान्दार र सक्षम नेपालीहरूलाई पारदर्शी प्रतिस्पर्धामार्फत नियुक्त गरेर मात्र निकायहरूमा सुधार ल्याउन सकिन्छ। यो सुधार आन्दोलनको दोस्रो चरणको मुख्य मुद्दा बन्नुपर्ने देखिन्छ।
अब प्रश्न उठ्छ—के नेपालमा यस्तो आमूल परिवर्तन सम्भव छ? उत्तर सजिलो छैन। पुरानो संरचना, गहिरो जरा गाडेको स्वार्थी वर्ग, अन्तर्राष्ट्रिय दबाब, र आर्थिक निर्भरता जस्ता अनेक चुनौती छन्। तर, जागृत नागरिकको आवाज, विशेषतः युवा पुस्ताको नेतृत्वमा आएको आवाज, कहिल्यै दबाउन सकिँदैन। यदि यो आवाज निरन्तर शान्तिपूर्ण, विवेकी र दूरदृष्टियुक्त ढंगले अघि बढाइयो भने परिवर्तन अवश्य हुन्छ।
आन्दोलनको भावी सफलता केवल सरकार परिवर्तनमा मात्र होइन, सम्पूर्ण प्रणाली र मानसिकताको रूपान्तरणमा निहित छ। शासनव्यवस्थाबाट लिएर न्यायालय, शिक्षा, स्वास्थ्य, प्रशासन, सुरक्षा निकाय सबै क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताको संस्कृतिलाई संस्थागत गर्न सकियो भने मात्र यो आन्दोलनको बलिदान अर्थपूर्ण हुन्छ। अन्यथा, केवल नेताको अनुहार बदल्ने तर प्रणाली जस्ताको तस्तै राख्ने परम्पराले फेरि नयाँ निराशा जन्माउनेछ।

युवा पुस्ताले प्रस्तुत गरेको महत्त्वपूर्ण विचार भनेको योग्य, इमान्दार, निष्ठावान्, राष्ट्रप्रेमी र दूरदृष्टि भएका व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने हो। बालेन जस्ता व्यक्तिहरूको नाम उल्लेख गर्नु वा विश्वभर रहेका योग्य नेपालीहरूलाई आमन्त्रित गरेर राष्ट्रनिर्माणको काममा सहभागी गराउने दृष्टिकोण यथार्थपरक छ। नेपाललाई अघि बढाउन दक्ष, पारदर्शी र जिम्मेवार नेतृत्व अपरिहार्य छ। तर प्रश्न उठ्छ—यस्ता व्यक्तिहरूलाई कसरी प्रणालीगत रूपमा अघि ल्याउने ? यदि यो प्रक्रिया पारदर्शी र निष्पक्ष ढंगले नगरेसम्म फेरि पुरानै जस्तो असफलता दोहोरिन सक्छ।
त्यसैले अबको आवश्यकता भनेको योजनाबद्ध, दीर्घकालीन, शान्तिपूर्ण र संस्थागत अभियान हो। युवापुस्ताले केवल सडकमा नारा लगाएर मात्र नभई वैकल्पिक नीतिगत खाका, सुधारको रूपरेखा, र ठोस कार्ययोजना निर्माण गरी प्रस्तुत गर्न सक्नुपर्छ। यसरी मात्र जनआन्दोलनले संरचनागत रूपान्तरणमा योगदान दिन सक्छ।
यस आन्दोलनले नेपाललाई एउटा अवसर दिएको छ—स्वच्छ, समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने। तर, यो अवसरलाई व्यवहारमा परिणत गर्न सम्पूर्ण नागरिकले आफ्नो मानसिकता सुधार्नुपर्छ। केवल नेताहरू भ्रष्ट छन् भनेर गाली गर्नु मात्र होइन, आफूभित्रको स्वार्थी प्रवृत्ति, गैरजिम्मेवारीपन र दास मानसिकतालाई पनि त्याग्नुपर्छ। नागरिकको आचरण सुधार बिना शासक सुधार सम्भव छैन।
नेपालमा व्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार र विभेदको अन्त्य गर्दै समानता, न्याय र सुशासन स्थापना गरी आफ्नो र भविष्यको पुस्ताको जीवन सुरक्षित बनाउने चाहना राख्ने सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी र आम जनसमुदायले देश र समाजको निर्माणमा योगदान पुर्याउन र भविष्यमा आजको जस्तो दुःखद घटना दोहोरिन नदिन अब दास मानसिकता पूर्णरूपले त्यागी, कुनै पनि राजनीतिक दलको अन्धभक्त नबनी, आफ्नै विवेक र चेतनालाई मार्गदर्शक बनाएर सही र गलत छुट्याउँदै, राजनीतिक दलको सदस्यता त्यागी स्वतन्त्र र विवेकी बनेर सत्य, न्याय र नागरिक अधिकारको पक्षमा उभिन जरुरि भईसकेको छ।
अब भ्रष्ट नेताहरू मात्र नभई हरेक संघ, संस्था र निकायमा रहेका भ्रष्ट पदाधिकारी, कर्मचारीसहित सम्पूर्ण भ्रष्ट व्यक्तिहरूलाई कठोर रूपमा कारबाही गर्दै जेल चलान गर्नुपर्छ र राष्ट्र मात्र नभई राष्ट्रभित्रका सम्पूर्ण निकायहरूलाई भ्रष्टाचार, अन्याय, अत्याचार र विकृतिबाट मुक्त गर्दै भ्रष्टाचारबाट कमाइएका अकूत सम्पत्तिहरूलाई राज्यले जफत गरी जनताको शिक्षा, स्वास्थ्य र समग्र राष्ट्रिय विकासका लगाउनुपर्छ।
नेपालको वर्तमान अवस्थामा, जेन जी आन्दोलनले ल्याएको चेतना र उभारलाई हल्का रूपमा लिन सकिन्न। यो आन्दोलन केवल पुराना राजनीतिक दलहरूको असफलता वा भ्रष्ट नेताहरूको पतनका लागि मात्र होइन, बरु दीर्घकालीन रूपमा शासकीय संरचनालाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउनका लागि हो। जनताको आवाजलाई प्राथमिकता दिने, दास मानसिकताबाट मुक्त हुने, र सचेत, स्वतन्त्र नागरिकको भूमिकालाई बढाउने बाटो यस आन्दोलनले खोलिदिएको छ।
नेपालको वर्तमान संकटको मूल कारण नै दीर्घकालीन रूपमा जरा गाडेको भ्रष्टाचार, अन्याय, अत्याचार, व्यथिति र विकृति हुन्, जसलाई बढाउनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीजस्ता तीन ठूला दलको प्रमुख भूमिका रहेको प्रस्ट भइसकेको छ। त्यसैले यी दलका सम्पूर्ण नेताहरूले जनतासँग आममाफी माग्दै आजीवन राजनीतिबाट सन्यास लिनु आज अपरिहार्य आवश्यकता बनेको छ। यसै सन्दर्भमा, जेन जी आन्दोलनले अघि सारेका प्रमुख मागहरू—संसद विघटन, सांसदहरूको सामूहिक राजीनामा, गोली हान्न आदेश दिने र हिंसक दमन गर्ने उच्च अधिकारीलाई तत्काल निलम्बन, आन्दोलनले सिफारिस गरेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन, संविधान संशोधन आयोगमार्फत प्रत्यक्ष निर्वाचन प्रणाली कार्यान्वयन, र अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन—सँगै सम्पत्ति छानबिन, भ्रष्टाचारविरुद्ध कारबाही, योग्यता प्रणाली स्थापना र प्रदेश खारेज गर्ने पहलसमेत अबको अपरिहार्य ऐतिहासिक निकासका रूपमा अघि बढाउन जरुरी छ। यी कदमहरूले मात्र राष्ट्रलाई सुशासन, उत्तरदायित्व र पारदर्शिताको बाटोमा डोर्याएर पुराना दलहरूको विफलताको अन्त्य गर्दै नयाँ सम्भावना र न्यायपूर्ण समाजको आधार तयार पार्नेछन्।
नेपालमा लामो समयदेखि चलेको भ्रष्टाचार र सत्ताको दुरुपयोगको विरोधमा उठेको आन्दोलन स्वाभाविक भए पनि केही अवसरवादी घुसपेठहरूले जेन जीको नाम दुरुपयोग गर्दै देशका ऐतिहासिक भवन र कागजात जलेर खरानी बनाइदिए तापनि अब नयाँ पुस्ताले यस खरानीमाथि नयाँ इतिहास लेख्नेछ र तुफानपछिका दिनहरू शान्ति, समानता, सुशासन र समृद्धितर्फ उन्मुख हुनेछन्। कुनै पनि ठूलो सङ्घर्ष र आमूल परिवर्तन कठिन र पीडादायी नै हुने गर्दछन्। शून्यबाटै सुरु गर्नुपर्ने भएपनि कहिले अगाडि बढ्न नदिने सुशासन, न्याय, समानता र समृद्धिको बाधक भत्काउन यो आन्दोलन सफल भएको छ।
जेन जी को आन्दोलनले सत्य र न्यायको पक्षमा उभिनेहरू जित्छन्, पाप र भ्रष्टाचार गर्नेहरू हार्छन् भन्ने एउटा स्पष्ट सन्देश दिएको छ। यो केवल राजनीतिक सन्देश मात्र होइन, सामाजिक र नैतिक शिक्षा पनि हो। यसले नेपाललाई अबको दशकमा नयाँ दिशातर्फ मोड्ने सम्भावना बोकेको छ। यदि सबैले मिलेर यस आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र दूरदृष्टियुक्त बनाए भने, निकट भविष्यमा समृद्ध, सुशासनयुक्त, समानता र न्यायमा आधारित नयाँ नेपालको सपना साकार हुन सक्छ। यही सपना साकार पार्नु आजको पुस्ताको साझा जिम्मेवारी हो।
लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।






























