
नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले विभिन्न क्षेत्रमा पानी परेको छ। गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको थियो भने बाँकेको नौबस्ता, उदयपुरको गाईघाटमा पनि भारी वर्षा मापन भएको छ।

बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशमा वर्षाको गतिविधि बढेको छ। झापाको केचना २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा भएको छ भने दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ। उदयपुरको गाईघाटमा एक घण्टामा ५४.६ मिलिमिटर वर्षा भएको छ, जुन भारी वर्षाको श्रेणीमा पर्छ।

बरिष्ठ मौसमविद् कँडेलका अनुसार आगामी दुई–तीन दिनसम्म पानी पर्ने क्रम जारी रहन सक्छ। न्यूनचापीय रेखा उत्तरतर्फ सर्दै गएमा वर्षा अझ बढ्ने सम्भावना छ। अहिले झापा, बाँके र पूर्वी तराईमा ठूलो वर्षा हुनसक्ने चेतावनी दिइएको छ। देशभर वर्षा असमान हुने देखिएको छ।






























