
चितवनको तुइन खोलामा मंगलबार अपराह्न ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडक पुनः अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सानो–सानो पहिरो निरन्तर खसिरहेकामा साँझ ५ बजेतिर ठूलो पहिरो झरेपछि बाटो पूर्ण रूपमा बन्द भएको हो।


यद्यपि, उपकरण परिचालन गर्न खोजिए पनि निरन्तर पहिरो खसिरहेका कारण बाटो खोल्ने कार्य असम्भव भएको कार्यालयले जनाएको छ। गत शुक्रबार बेलुकी ७ बजेदेखि आइतबार ४ बजेसम्म पनि यही खण्डमा ठूलो अवरोध भएको थियो, जसलाई पन्छाएर यातायात सञ्चालन गरिएको थियो।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार मंगलबार खसेको पहिरो अघिल्लो पटकको भन्दा अझ ठूलो छ। उनले भने, “आजै काम सुरू गर्छौं तर अँध्यारो भएपछि सम्भव हुँदैन, भोलि बिहानदेखि निरन्तर प्रयास गर्नेछौं। पहिरो पन्छाउन कम्तीमा एक दिन लाग्ने अनुमान छ।”




























