
बडा दशैं एवं नवरात्रको तेस्रो दिन आज देशभर चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। नवदुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीलाई हातमा चन्द्र आधार भएको घण्टा बोकेको स्वरुपमा चित्रित गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ। नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्रका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार देवी चन्द्रघण्टाको पूजा आराधनाले शक्ति प्राप्त हुने विश्वास छ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ भनी उल्लेख गरिएको छ, जसअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो। पहेँलो वर्णकी देवी चन्द्रघण्टाले दानवी स्वरुपको नाश गर्ने र भक्तलाई शक्ति तथा शान्ति प्रदान गर्ने विश्वास गरिन्छ। आजको दिन मणिपुर चक्रमा ध्यान गर्दा विशेष शक्ति प्राप्त हुने धार्मिक व्याख्या गरिएको छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार देवी चन्द्रघण्टाको कृपाले पाप नाश भई मन शान्त हुने बताइन्छ। विशेषगरी गीत–संगीत क्षेत्रमा लागेकाले उनीहरूको देवीप्रति विशेष आस्था रहने गरेको छ।


नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री देवीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना भएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीलाई विशेष पूजा आराधना गरिएको हो।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ। देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।



















