
एसिया कपको फाइनलमा भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्। सुपर फोर चरणमा गएराति पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। भारत भने एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ र आज श्रीलंकाविरुद्ध सुपर फोरको अन्तिम खेल खेल्दैछ।

दुबईमा भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा बंगलादेशले पुरा २० ओभर खेले पनि ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो। बंगलादेशका लागि शामिंम हुशेनले सर्वाधिक ३० रन जोडे भने पाकिस्तानका लागि मोहमद नवाजले २५ रन बनाए।

यसअघि समूह चरण र सुपर फोरमा भारतसँग पराजित भएको पाकिस्तानले फाइनलमा बदला लिने अवसर पाउनेछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत भने आत्मविश्वासका साथ पाकिस्तानविरुद्ध मैदानमा उत्रिने तयारीमा छ।

































