
टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ। समूह ‘बी’मा रहेको नेपालले राति ८ः४५ बजे हुने खेलमा जित निकाल्ने लक्ष्य लिएको छ।

नेपाल, कुवेत र जापान समावेश समूह ‘बी’बाट शीर्ष दुई टोली ‘सुपर सिक्स’मा पुग्नेछन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। समूह ‘ए’मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ प्रतिस्पर्धा गर्दैछन्।

युएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज जिती र ओमानमा भएका अभ्यास खेलमा विजयी बनेको नेपाल उच्च आत्मविश्वासका साथ मैदानमा उत्रँदैछ। आगामी वर्ष भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा २० देश सहभागी हुने छन्, जसमा हालसम्म १७ टोली छनोट भइसकेका छन्। अब बाँकी तीन स्थानका लागि एसियाली टोलीबीच कठोर प्रतिस्पर्धा हुँदैछ।

































