
कात्तिक शुक्ल प्रतिपदा अर्थात् तिहारको पाँचौ दिन आज देशभर गाईको पूजाआजा गरी श्रद्धा र उल्लासका साथ मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र मानी गौमाता भनी सम्मान गरिन्छ, किनभने गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक र जीवनदायी मानिन्छ।


स्थानीय जातका गाईका जुरोले सूर्य–चन्द्रबाट ऊर्जा लिई दूध, गोबर र गहुँतमार्फत् मानिसलाई शक्ति दिने वैज्ञानिक मान्यता पनि रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
धार्मिक विश्वासअनुसार आजको दिन गाईलाई मीठा परिकार खुवाएमा शुद्धता र समृद्धि प्राप्त हुन्छ। कतिपय समुदायले कृष्ण औँसीका दिन गाई पूजा गर्ने चलन राखे पनि शास्त्रअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा पूजा गर्नुपर्ने मान्यता छ।
गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिएको छ। साथै, साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन आज गाईको पुच्छरमा बाँध्दा मृत्युपश्चात् गाईले आत्मालाई वैतरणी नदी पार गराउने धार्मिक विश्वास रहिआएको छ।































