
नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। सोमबार सिलोङको जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा नेपालले भारतलाई २–१ ले हरायो।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बा नायक बनिन्। उनले खेलको दोस्रो मिनेटमै पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। खेलको ६३ औँ मिनेटमा उनले दोस्रो गोल थप्दै जित सुनिश्चित गरिन्। भारतले ८१औं मिनेटमा एक गोल फर्काए पनि बराबरी गर्न सकेन।

यसअघि त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ, जसले नेपाललाई ३–० र भारतलाई २–० ले पराजित गरेको थियो। झण्डै एक वर्षअघि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पनि नेपालले भारतलाई टाइब्रेकरमा हराएको थियो। 🇳🇵⚽

































