

आजदेखि देशभरका सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्। सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकेको हो।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहने प्रावधान थियो। जाडोयाममा दिन छोटो हुने र चिसो बढ्ने भएकाले सरकारले कार्यसमय एक घण्टाले घटाउने निर्णय गरेको हो।
माघ १५ पछि भने पुनः सात घण्टाको कार्यालय समय अर्थात् बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ।
शुक्रबारका दिन भने पहिलेजस्तै दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने व्यवस्था यथावत् रहनेछ।
सरकारले यस निर्णयले कर्मचारीहरूको कार्यसहजता बढ्ने र ऊर्जा खपत घट्ने अपेक्षा गरेको छ।

















