
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताए ।
मंगलबार बानेश्वरस्थित सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीसँगको छलफलमा नेता महरले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पदाधिकारीका तर्फबाट आउनुपर्ने कार्यतालिका शीघ्र ल्याउन माग गरे । “कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा समग्र नेपाली कांग्रेस केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति आफूलाई भएको छ,” महरको भनाइ थियो ।


उनले पार्टीको विधानअनुसार चार वर्षमा हुनुपर्ने महाधिवेशन आजसम्म सम्पन्न गर्न नसक्नुमा केन्द्रीय समिति र विशेषगरी शीर्ष पदाधिकारीहरू जिम्मेवार रहेको औंल्याए । उनले सभापति, उपसभापति र महामन्त्री लगायतका ‘भी-फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको बताए । “विधानले दिएको जिम्मेवारीसमेत पूरा गर्न नसक्दा र सदस्यता वितरण लगायतका काम समयमा नहुँदा आजको स्थिति आएको हो,” उनले भने ।
महरले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुर्याउने पदाधिकारीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्नुपर्ने जस्ता सबै सुझावहरूले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा बनाउनुपर्नेमा जोड दिए ।
नेता महरले अहिले नेपाली कांग्रेसले आन्तरिक किचलोमा अल्झिनुभन्दा देशका सामु देखिएका चुनौतीहरूको सामना गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । “नेपाली कांग्रेसले देशको सबैभन्दा ठूलो र स्थापित दल भएको कारणले सबै राजनीतिक दल, सरकार र नयाँ पुस्तासँग समेत संवाद गरेर देशलाई निकास दिन नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” उनले भने । उनले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि वातावरण बनाउन पनि कांग्रेसले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए ।
















