
बलिङ र ब्याटिङमा उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। पहिलो खेलमै जनकपुर बोल्ट्सलाई हराएर लयमा रहेको काठमाडौंलाई साविक उपविजेता सुदूरपश्चिमले २९ रनले रोक्दै दुवै पक्षबाट रोचक प्रदर्शन देखायो। टोलीका लागि हर्मित सिंह अलराउन्ड स्टार बने।

१४७ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको काठमाडौं १६.५ ओभरमै ११८ रनमा अलआउट भयो। काठमाडौंका ओपेनर आकाश त्रिपाठीले ३४ रन, जोन सिम्पसोनले २४ रन जोड्दा अन्य खेलाडी दोहोरो अंक पुग्न सकेनन्।

सुदूरपश्चिमका स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए। इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट जोड्दा काठमाडौंको ब्याटिङ चरमरियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ रनमै ३ विकेट गुमाए पनि कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहको साझेदारीबाट १४७ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। हर्मितले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रन प्रहार गर्दै खेलको ‘गेम चेन्जर’ बने।































