
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पछि फर्किने अवस्था नरहेको बताएका छन्। उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरेपछि शर्माले विधानअनुसार विशेष महाधिवेशनको “ब्याक गियर” नहुने स्पष्ट पारे।


उनका अनुसार, विधानमा विशेष महाधिवेशन दर्ता भएको छ, फिर्ता दर्ता नभएकोले ९० दिनभित्र महाधिवेशन गर्नैपर्छ। नियमित महाधिवेशनको सहमति जुटेमा मात्र विशेष महाधिवेशनको माग सम्बोधन हुनेछ।
महामन्त्री शर्माले अब प्रश्न सभापति शेरबहादुर देउवामा रहेको बताए। २८ असोजको केन्द्रीय समिति बैठकमा सभापतिले मंसिरमा महाधिवेशन गर्नुपर्ने स्पष्ट वक्तव्य दिएका थिए, जसलाई कायम राख्ने कि नराख्ने मुख्य चुनौती भएको उनले बताए।
शर्माले सभापतिको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्याउने विश्वास व्यक्त गर्दै, असफल प्रयासले कांग्रेस र देशको लागि दुर्भाग्यपूर्ण नतिजा ल्याउने चेतावनी दिएका छन्।
































