
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेलको आयोजना हुनेछ।

पहिलो खेल दिउँसो ११:४५ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुने छ। अहिलेसम्म भएका तीन खेलमा लगातार जित हात पारेको सुदूरपश्चिम रोयल्स ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी लायन्स भने दुई खेलबाट २ अंकसहित छैटौँ स्थानमा रहेको छ।

दोस्रो खेल साँझ ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ। दुवै टोलीले अहिलेसम्म दुई–दुई खेल खेलेका छन् तर कुनै पनि जित हात पारेका छैनन्।

यो खेल दुबै टोलीका लागि अंक तालिकामा सुधार गर्ने अवसर हुने भएकाले रोमाञ्चक रहने अपेक्षा गरिएको छ। कीर्तिपुर मैदानमा हुने यी खेलले दर्शक र क्रिकेट प्रेमीका लागि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ।






























