
फागुन २१ गते घोषणा भएको निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण पर्याप्त नभएको गुनासोपछि सरकारले नेपाली सेनालाई छिट्टै फिल्डमा परिचालन गर्ने रणनीति तयार पारेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार देशको अवस्था अनुसार एकीकृत सुरक्षा योजना बनाइएको छ र सबै सुरक्षा निकायहरू त्यस अनुसार परिचालन हुनेछन्। उनले भने, ‘निर्वाचनको वातावरण तयार गर्न सरकार लागिरहेको छ। कानुनी प्रबन्ध र स्रोतसाधन व्यवस्थापनमा काम भइरहेको छ। सुरक्षा चुनौतीलाई चिर्ने योजना बनाइएको छ।’

एक सुरक्षा प्रमुखले भने, यसपालि सेना विगतभन्दा छिटो फिल्डमा आउनेछ। सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत सुरक्षा योजनामा वर्तमान परिस्थितिको विस्तृत विश्लेषण गरी फौजको तैनाथीको समय र तरिका तय गरिएको छ। यसअघिका निर्वाचनमा पनि सेना परिचालन हुँदै आएको थियो। यस पटक केन्द्रीय सुरक्षा समितिले योजना स्वीकृत गरिसकेको छ भने राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ।

तीन चरणको योजना अनुसार निर्वाचनअघि, निर्वाचनको बेला र निर्वाचनपछि सेना फिल्डमा कार्यरत हुनेछ। यसअघि सेना परिचालन एक–दुई महिनाअघि मात्र हुने गरेकोमा यसपटक तीन महिनाअघि नै प्रक्रिया अघि बढाइएको हो। भदौ २४ गतेको जेनजी आन्दोलनपछि सुरक्षा अवस्था बिग्रिएपछि उपत्यकामा ६ हजार र बाहिर १८ हजार फौज परिचालन गरिएको थियो।

निर्वाचनमा सहभागी हुन हालसम्म १०६ दलले आयोगमा निवेदन दिएका छन्। आयोगले समय थप गरी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पनि गरिरहेको छ।
































