
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले उत्कृष्ट समन्वय र आक्रमक खेलका साथ १७ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो।

लुम्बिनीको जीतमा ओपनर डीआर्सी सर्टको अविश्वसनीय प्रदर्शन प्रमुख रह्यो। ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन प्रहार गर्दै उनले टिमलाई जितको आधार तयार गरेका थिए। १३ ओभरसम्म टिकेका सर्टले खेलको मोड नै बदलिदिए।

यो पराजय विराटनगर किङ्सको सिजनको दोस्रो हार हो। यसअघि उनीहरू चितवन राइनोजसँग मात्रै पराजित भएका थिए। लुम्बिनी लायन्सले भने आफ्नो तेस्रो जित दर्ता गर्दै प्लेअफ यात्रामा बलियो उपस्थितिको संकेत दिएको छ।

































