
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक असर नेपालमा देखिएको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । बाँकी तराई क्षेत्रका केही स्थानमा पनि हुस्सु देखिएको छ, जसले दैनिक जनजीवन र सवारी आवागमनमा आंशिक प्रभाव पारेको छ ।

आज दिउँसो तराईका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहन सक्नेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराईका केही स्थानमा पुनः हुस्सु लाग्ने सम्भावना रहेको छ । पहाडी तथा हिमाली क्षेत्रमा भने मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।
































