
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’लाई विजयी बनाउन यहाँका युवाहरू संगठित रूपमा मैदानमा उत्रिएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली–४ ले सोमबार आयोजना गरेको युवा भेलाले व्यापक युवा परिचालनको निर्णय गरेको हो।


युवा परिचालनको कमाण्ड युवा नेता कमल कडायतलाई दिइएको छ भने नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मेवारी दिनेश पाठकलाई तोकिएको छ। यससँगै संगठन विस्तार र स्थानीय तहमा प्रभावकारी अभियान सञ्चालनका लागि नगरस्तरीय नेतृत्वसमेत चयन गरिएको छ।
तरुण दल गोदावरी नगरको युवा संयोजकमा आशिष भट्टराई चयन भएका छन् भने नेविसंघ गोदावरी नगर संयोजकको जिम्मेवारी दिलबहादुरलाई दिइएको छ। नयाँ नेतृत्व चयनसँगै कांग्रेसले कैलाली–४ मा युवा शक्ति एकताबद्ध गर्दै घरदैलो, जनसम्पर्क र प्रचार–प्रसार अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
नेपाली कांग्रेस कैलाली–४ का क्षेत्रीय सभापति वसन्त रोकाया ‘ललित’को संयोजकत्वमा गठित क्षेत्रीय मूल निर्वाचन समिति अन्तर्गत यी उपसमितिहरू निर्माण गरिएको हो। साथै उम्मेदवार आनन्दको जित सुनिश्चित गर्न महिला संघ, दलित संघ र किसान संघ परिचालनका लागि समेत छुट्टाछुट्टै उपसमिति गठन गरिएको सभापति रोकायाले जानकारी दिए। “युवाहरू उत्साहका साथ स्वयं मैदानमा उत्रिएका छन्। उनीहरुकै नेतृत्वमा समिति बनेको छ र सोमबारदेखि नै गाउँ–गाउँमा चुनावी गतिविधि तीव्र बनाइएको छ,” उनले भने।
युवाहरूको स्वतःस्फूर्त सहभागिताले आफू हर्षित बनेको उल्लेख गर्दै उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले यो निर्वाचन विगतभन्दा फरक रहेको बताए। “युग सुहाउँदो विकास, प्रविधिमैत्री सोच र युवाको आकांक्षा अनुरुप कांग्रेस अघि बढिरहेको छ,” उनले भने, “युवाको चाहनाअनुसार काम गर्न सक्ने आधार हाम्रोसँग छ, त्यसैले हामी युवामाझ मत माग्न आएका हौँ।”
युवाको संगठित ऊर्जा र व्यापक परिचालनसँगै कैलाली–४ मा कांग्रेसको चुनावी माहोल दिनप्रतिदिन थप तातिँदै गएको देखिन्छ।
सम्बन्धित समाचार
कैलाली- ४ मा कांग्रेसको युवा रणनीतिः युवा परिचालनको कमाण्डमा कमल कडायत चयन
कैलाली क्षेत्र न. ४ मा कांग्रेसले नेविसंघ परिचालनको जिम्मा दिनेश पाठकलाई
कैलाली क्षेत्र न ४ मा अशिष भट्टराई बने तरुण दल गोदावरी नगर युवा संयोजक
कैलाली क्षेत्र न ४ मा दिल बहादुर बने ने.बि.संघ गोदावरी नगर संयोजक































