
नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सम्पन्न गरी चेन्नई पुगेको छ। आईसीसी विश्वकपअघि अन्तिम तयारीस्वरूप नेपालले चेन्नईमा दुई वटा वाम–अप खेल खेल्न लागेको हो। पहिलो वाम–अप खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित ऐतिहासिक एमए चिदम्बरम रंगशालामा हुनेछ। नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन्।

विश्वकपअघि नेपालको दोस्रो वाम–अप खेल बिहीबार क्यानडासँग तय गरिएको छ। दुवै अभ्यास खेल चेन्नईमै हुनेछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग घुलमिल हुन सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। इङ्ल्यान्ड र इटालीसँग नेपालले पहिलो पटक विश्वकप खेल खेल्न लागेको हो।


समूह चरणका सबै खेल मुम्बईमा हुनेछन् भने नेपाली टिमका खेलका सबै टिकट बिक्री भइसकेका छन्। सन् २०१४ र २०२४ पछि यो नेपालको तेस्रो विश्वकप सहभागिता हो।
कप्तान रोहित पौडेलको नेतृत्वमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, सन्दीप लामिछानेसहित १५ सदस्यीय नेपाली टोली विश्वकपमा प्रतिस्पर्धा गर्दैछ।
































