
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम छ।

यसको असरले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। तराईका केही स्थानमा बिहान हुस्सु लागेको छ र दिउँसो मौसम मुख्यतया सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।































