भागमा जति थियो आमाको प्यार पाएकै हो,
हजुरले गरेको अरूलाई झैँ सुसार पाएकै हो।
काखमा खेल्नेबेला विदेशी भूमिमा भयपनि,
फर्कि आउँदा पाउँनुपर्ने अधिकार पाएकै हो।
नौ महिनासम्म बसें हजुरकै कोखमा मै पनि,
तीन वर्षसम्म नै अमृतको उपहार पाएकै हो।
पहिलो पाइलो डोराउने सहारापनि हजुर नै,
जिन्दिगी जिउने हजुरको आधार पाएकै हो।
आज भित्तामा टांसेको तस्विरमा पुजा गर्दा,
सपनिमा आउनेछुँ भन्ने समाचार पाएकै हो।
गरिबी कति निर्दयी आमाको छुटाउने काख,
आउँदैन चोला सङ्केत बारमबार पाएकै हो।
॥१॥
अब आर्को पटक पनि लडाई आर पार हुँदैछ
त्यसका आधार समेत हाम्रै बिच तैयार हुँदैछ।
दुश्मनहरू भए जीत पनि हाम्रै हुन्थ्यो होला
आफ्नैले छुरा धस्ने प्रयास नै लगातार हुँदैछ।
आफूले पालेकाहरू त बेहिसाव छन् नजिकै,
ढाल कहाँ हुन्थे मेरा घाँटी रेट्ने तरवार हुँदैछ।
किन बिरोनो हुँदोरहेछ आफैले जन्माएको नि,
अचेल सम्पतिकै लागि आपसमा दरार हुँदैछ।
सर्वहाराको नेतृत्व र अधिनायक्तव चाहान्थ्यौँ,
यहाँ त सुनचाँदी खाने धनीको सरकार हुँदैछ।
म नौलो जनवादकै लागि जीवनभरी लडेको,
केभनौँ आज देशभरी जारकै बफादार हुँदैछ।
॥२॥
कसैलाई थाहा छैन यो सफर कहाँ पुग्छ,
पानी सुके पछिको यही बगर कहाँ पुग्छ।
कसैले तिर्खा मेट्छन् र पौढिन्छन् कोही,
चासोछैन खोलाको खै खबर कहाँ पुग्छ।
नसा सबैलाई मस्तछन् आआफ्नै धुनमा,
मनपरी हुन्छ र त्यस्को असर कहाँ पुग्छ।
पहिले मानो छानो र चाहिन्छ लुगाफाटो,
तर सिमा हुँदैन मन्छेको रहर कहाँ पुग्छ।
गरिबको परिश्रमबाट उत्पादन हुन्छ यहाँ,
थाहाछैन उसैको आज कदर कहाँ पुग्यो।
॥३॥
आज ऊ शुभकामना दिन आयो किन होला,
नयाँ वर्षको दिन साइनो लगायो किन होला।
उसले भुलेछ तर मैले भुलेको छैन् व्यवहार,
दुश्मनले पनि मलाई मन परायो किन होला।
सङ्का लाग्छ र लाग्ने आधारपनि छ मसँग,
भन उसलेपनि यो बाटो समायो किन होला।
जब मज्धारमा देख्यो मलाई डुब्नै थालेको,
त्यही बेला उस्ले गुलाब पठायो किन होला।
खतरा त देश विदेश मलाई नै थियो उसैसँग,
अनौठो कुरा सुरक्षा उसैले पायो किन होला।
म घर बनाउन खोज्थें ऊ भत्काउन खोज्थ्यो,
आज त पश्चिम बाट घाम उदायो किन होला।
सुरेशकुमार पाण्डे दाङ घोराही १८