
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागत अत्यधिक बढेकाले मूल्य समायोजन गर्न सदस्य उद्योगहरूलाई आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा महासंघले कच्चा पदार्थ, ढुवानी र अन्तर्राष्ट्रिय परिस्थितिका कारण उद्योग सञ्चालन कठिन बन्दै गएको उल्लेख गरेको छ।

महासंघका अनुसार बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्यापजस्ता सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। त्यस्तै, डिजेलको मूल्यवृद्धिले ढुवानी खर्च पनि उल्लेख्य रूपमा बढाएको छ। इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्धमा आएको उतारचढावले अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित भई कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको महासंघको ठहर छ।

हाल देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जहाँ १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढीलाई रोजगारी दिँदै आएको छ। महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार हालको मूल्यमा पानी बिक्री गरेर उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको छ।

महासंघले सरकारसँग उद्योगमैत्री नीति, कच्चा पदार्थको सुनिश्चित आपूर्ति र ढुवानी लागत नियन्त्रणका उपाय अपनाउन माग गर्दै उपभोक्तासमेतलाई सहयोग गर्न अपिल गरेको छ।





























