
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र आन्तरिक विवाद चर्काउँदै नेताहरूलाई कडा चुनौती दिएका छन्। महाराजगञ्जमा आयोजित देउवा समूहको भेलामा बोल्दै उनले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कामाथि लेटरप्याड दुरुपयोगको आरोप लगाउँदै २४ घण्टाभित्र अनुशासनात्मक कारबाही गर्न चुनौती दिए।

बलायरले कारबाही गर्न हिम्मत भए परिणाम भोग्न तयार हुन चेतावनी दिँदै पार्टी नेतृत्वमा सानेपामा बसेकाहरूभन्दा महाराजगञ्जमा उपस्थित नेताहरूको योगदान ठूलो रहेको दाबी गरे। उनले सानेपामा बसेकाहरूलाई थकाउन र गलाउन सक्ने क्षमता आफूहरूसँग रहेको उल्लेख गर्दै नेतृत्वले अवसर दिए कांग्रेसको इतिहास जोगाउन तयार रहेको बताए।

उनले उपसभापति विश्वप्रकाश शर्मामाथि निर्वाचन अभियानका क्रममा जहाँ गए पनि जमानत जफत भएको आरोप लगाए। साथै, गगन थापा निर्वाचनमा पराजित भएपछि मौन बसेको टिप्पणीसमेत गरे।

बलायरका अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष पुनः सतहमा आएको देखिएको छ, जसले पार्टी एकतामा चुनौती थपिएको विश्लेषण गरिएको छ।





























