
नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी तथा नागरिकता लिएको पुष्टि भएपछि काउन्सिलले उनीहरूको नाम दर्ता किताबबाट हटाएको हो।

काउन्सिलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम दर्ता खारेज गरिएको जनाएको छ। यो निर्णय सूचना प्रकाशित भएकै मितिबाट लागू भएको छ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतलगायत देशको नागरिकता लिएको पाइएको छ। सूचीमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारूलगायत रहेका छन्।


यसैगरी डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सर्वजना पनि सूचीमा छन्। कानुनी प्रावधानअनुसार विदेशी नागरिकता लिएपछि नेपाली दर्ता स्वतः अमान्य हुने व्यवस्था छ।

































