
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले ललितपुरमा आयोजित कार्यक्रममा आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मौसमीय अवस्थाबारे जानकारी दिँदै धेरै स्थानमा न्यून तथा अधिकतम तापक्रम पनि सरदरभन्दा बढी रहने जनाएको हो।

मौसमविद् सुदर्शन हुमागाईंका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। यद्यपि कर्णाली र कोशीका उत्तरी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र, मधेशको पश्चिमी भूभाग तथा कोशी प्रदेशको मध्य भागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।


यस वर्ष मनसुन अवधिभर अधिकतम तथा न्यूनतम तापक्रम पनि अधिकांश क्षेत्रमा सरदरभन्दा बढी रहने अनुमान गरिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, मधेश तथा कोशी प्रदेशका विभिन्न भूभागमा अत्यधिक गर्मीको सम्भावना औँल्याइएको छ।
विभागका अनुसार यो प्रक्षेपण विश्व मौसम संगठन, दक्षिण एसियाली जलवायु फोरम (सास्कोफ) तथा एल निनो, एन्सो र इण्डियन ओसन डाइपोल (आईओडी) को वर्तमान अवस्थाको विश्लेषणका आधारमा गरिएको हो। हाल प्रशान्त महासागर क्षेत्रमा एल निनोको प्रभाव बढ्दो क्रममा रहेको जनाइएको छ।
गत वर्ष अधिकांश क्षेत्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मापन गरिएको थियो भने तापक्रम धेरै स्थानमा औसतभन्दा बढी रहेको विभागले स्मरण गराएको छ। यस वर्ष पनि कम वर्षा र बढी गर्मीले कृषि, खानेपानी तथा जनजीवनमा प्रभाव पार्न सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।































