

राष्ट्रिय परिचयपत्रको प्रणाली एक सातादेखि नचल्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण विभिन्न सेवा अवरुद्ध बनेका हुन्।

सिस्टममा समस्या देखिएपछि विवरण सच्याउने, जन्मदर्तासँगै प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा हुने बायोमेट्रिक रुजु लगायतका सेवा प्रभावित भएका छन्। यसले दैनिक सेवा लिन पुगेका नागरिकलाई ठूलो असुविधा भएको छ।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिएको बताएका छन्। उनले सकेसम्म छिटो प्रणाली पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए।
लामो समयसम्म सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा आक्रोश बढ्दै गएको छ भने सम्बन्धित कार्यालयमा दैनिक भीडसमेत बढ्न थालेको छ।






























